काठमाडौँ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । उनी हुम्लाका प्रहरी प्रमुखसमेत हुन् । रक्सी खाएर महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाकी एक महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान लागि डिएसपी भट्टराईलाई निलम्बन गरिएको हो। डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्।
महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिएका छन् । सँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ । हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बताएको छ ।
डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत रहेको बुझिएको छ । २०७७ वैशाखमा इलाका प्रशासन कार्यालय बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।