काठमाडौँ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ले हिमालय क्षेत्रमा व्यावसायिक स्काई–डाइभिङकाे सुरुवात गरेका छन् । उनी आफैँले पनि सगरमाथा क्षेत्रमा स्काई डाइभ गरेका छन् । उनले यसलाई ‘स्काई डाइभ निम्स दाइ’ नाम दिएका छन् । निम्स दाइले पोखरा र सगरमाथा क्षेत्रमा स्वेदशी तथा विदेशीलाई स्काई डाइभसमेत गराइसकेका छन् । ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गरेका उनले आफ्नो महत्वाकांक्षालाई थप उचाइ दिन स्काई डाइभको औपचारिक सुरुवात गरेका हुन् ।
देशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित सगरमाथा स्काई डाइभ सुरु गरेको उनले बताएका छन् । यसले देशमै उच्च सीपयुक्त रोजगारीसमेत सिर्जना गर्ने उनको भनाइ छ । यसअघि नै एक्सप्लोर हिमालयले पोखरा र सगरमाथा क्षेत्रमा व्यावसायिक स्काई डाइभिङ गराउँदै आएको छ । सर्वोच्च शिखर सगरमाथाको काखमा गरिने स्काई डाइभले नेपाली पर्यटन र अर्थतन्त्रमै ठूलो टेवा पुर्याउने उनको विश्वास छ । निम्स दाइले बेलायतको सैन्य बलमा रहँदा वर्षाैँ लामो प्यारासुटिङसम्बन्धी अनुभव संगालेका थिए । त्यसैले उनी साहसी पर्वतारोही मात्रै होइनन्, सफल स्काइडाइभर पनि हुन् । उनले सुरुवात गरेका स्काई डाइभमा साहसिक गतिविधिमा रमाउने व्यक्तिहरूलाई ट्रेकिङको साथमा २३ हजार फिटको उचाइबाट उड्ने अवसरसमेत प्राप्त हुनेछ ।
‘स्काई–डाइभ निम्स दाइको दुईवटा उद्देश्य छन्,’ उनले भने, ‘पहिलो, मानिसहरूलाई आफ्नो सीमा बढाउन प्रेरित गर्ने र दोस्रो, उनीहरूको ‘नयाँ सम्भावना’ प्राप्तिका लागि सहयोग गर्ने ।’ उनले ‘इलाइट एक्पेड’ नामक ट्रेकिङ कम्पनी सञ्चालन गर्छन्, जसले स्वदेशी तथा विदेशी आरोहीहरूलाई सगरमाथासहित विश्वभरका हिमाल आरोहण गराउँदै आएको छ । उनले महँगो मूल्य तिर्न सक्ने खर्चालु विदेशी आरोहीहरू ल्याउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
सधैं विवादमा आइरहने निम्स दाइ भनेर चिनिने आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका हुन् । म्याग्दीमा जिल्लामा जन्मेका निम्स पूर्व ब्रिटिस गोर्खा सैनिक हुन्। उनले सन् २०१२ बाट आरोहण थालेका थिए ।उनी हिजोआज विवादमा आइरहेका हुन्छन् । र यो स्काई डाइभिङकाे सन्दर्भमा पनि उनि विवादमा मुछिसकेका छन् । सगरमाथा क्षेत्रमा अनुमतिबिना ‘स्काई-डाइभिङ’ गरेको भन्दै पर्यटन विभागले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई स्पष्टिकरण सोधेको छ।
विभागका एक कर्मचारीका अनुसार पुर्जाले सगरमाथा क्षेत्रमा अनुमतिबिना ‘स्काई-डाइभिङ’ गरेकोले स्पष्टिकरण सोध्न लागेको हो। पुर्जाले ‘स्काई-डाइभिङ’ गर्नेबारे विभागसंग केहि समन्वय नगरेको ती कर्मचारीले बताए।
निर्मल पर्वतारोहण क्षेत्रमा सक्रिय छन्। वर्ल्ड रेकर्डसँगै पर्वतारोहणमा चासो राख्नेहरूलाई उनले पर्वतारोहणमा सघाउने गरेका छन्। उनले केहि समयअघी कुवेती टिमलाई आमादब्लम् हिमाल लगेका थिए। उनीहरूले सो हिमालमा आफ्नो देशको झन्डा बिछ्याएपछि पुर्जा विवादमा आए र आफूलाई हिमालमा त्यस्तो गर्न नपाइनेबारे जानकारी नभएको भन्दै माफी मागेका थिए। कपनमा पुर्जाले भाडामा लिएको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको थियो। हिमाल चढ्दा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको दाबी गरिँदै आएको छ। त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको खुलेको छ।
पुर्जाले दोहोरो नागरिकता लिएर नागरिकता ऐन र राहदानी ऐन विपरीत काम गरेको पनि खुलेको छ । साथै उनि नायिका नम्रता श्रेष्ठसंग प्रेमसम्बन्धमा रहेको कुराले पनि निकै चर्चा बटुल्यो यधपी उनीहरु अहिले प्रेम सम्बन्धमा भने छैनन् ।