काठमाण्डौं कात्तिक १७ गते । रिगल भनिने योगराज ढकाललाई बाँके जिल्ला अदालतले शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनीधि वाग्लेले जानकारी दिनुभयो ।
बाँके प्रहरीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको थियो । बिहीबार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर आज ११ बजे बाँके जिल्ला अदालतमा बुझाएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको जानकारी दिनुभयो ।
यसअघि जन्मकैद सजाय पाएका ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । आदेशलगत्तै रिगललाई पक्राउ गरिएको हो । रिगलका सहयोगीले उहाँले प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।
नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो । घटनाको समय रिगल नेपाल तरुण दल क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहनुभएको थियो । अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ ।