सुर्खेत, कात्तिक १७-
रोजगारीको सिलसिलामा भारतमा रहेका सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाकोसवारी दुर्घटनामा परी मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए।दुर्घटनामा परी रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको छ।
शुक्रबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको जानकारी आफूले पाएको अध्यक्ष विश्वकर्माले बताए। उनीहरू सिजनमा परिवार नै रोजगारीका लागि भारत जाने गरेका थिए। ‘त्यहाँका कम्पनीहरूसँग समन्वय गरेर काम गर्ने गर्नुहुँदो रहेछ, यो सिजनको दसैंमा पनि उहाँको परिवार घर आएको थिएन,’ अध्यक्ष विश्वकर्माले भनेका छन । उनका अनुसार आफन्तले शव बुझ्ने तयारी गरेका छन्। अन्त्येष्टिका लागि नेपाल ल्याउने वा नल्याउने भन्नेबारे टुंगो नलागेको उनले जानकारी दिए।यसभन्दा साउन महिनामा मात्र अघि भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ ।
घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट राज्यको बिच भागमा पर्दछ । गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले रातोपाटीलाई जानकारी दिए । धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ ।
वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यहीँ थिए । धमलाका अनुसार सुस्मिताको एक महिना अगाडि मात्रै बिहे भएको थियो । सुस्मिताका श्रीमान पनि भारतमै छन् । यता चौकुनेमा भने बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमला बताउँछन् ।त्यहाँ रहेका नेपाली समुदायले घटनाको अनुसन्धानका लागि माग गरिरहेका छन् । यता वडाध्यक्ष धमलाले भने मृतकका परिवारको किरिया खर्च भनेर २० हजार सहयोग गर्ने निर्णय गरिएको बताए ।