काठमाडौं, कात्तिक १७-
राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन्।राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका हुन्।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको तीन देशको भ्रमण कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। सुरूमा राष्ट्रपति पौडेल फ्रान्सको पेरिस जानेछन्। पेरिस पिस फोरममा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम छ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जानेछन् । त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किनेछन् ।
सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औं सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ । त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
कृषि पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।