२२ कात्तिक,बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको कार्यशैलीसँग असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता भएका छन् ।भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । प्रमुख प्रशासकीय अधिकृत भुसालले मेयर पाण्डेय र आफ्नो काम गर्ने शैली नमिलेपछि काठमाडौं फर्केको बताए ।
उपमहानगरको कार्यपालिका वैठकको अघिल्लो दिन नै मेयरसँग विवाद भएर भुसाल काठमाडौं गएपछि कार्यपालिका बैठक प्रभावित हुने देखिएको छ ।बुटवल उपमहानगरपालिकाका कर्मचारी स्रोतका अनुसार मेयर पाण्डेयले करारका कर्मचारी हटाएर आफू निकटका व्यक्तिलाई नियुक्ति र अनुदान वितरण गर्न दबाब दिएका तर प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले कार्यपालिका वैठकबाट पारित नगरी विधि प्रक्रिया र कानूनविपरीत आफूले निर्णय नगर्ने अडान लिएपछि मेयरले तत्काल बुटवल छाड्न दबाब दिएका थिए ।
बुटवल उपमहानगरमा राम्रो काम गर्न सक्ने ब्युरोक्रेसी रहेको २ महिनामा आफूले अनुभव गरेको भुसालले बताए ।प्रमुख प्रशासकीय अधिकृत भुसाल फिर्ता भएको र उनीसँग भएको विवादबारे बुझ्न मेयर पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, प्रवक्ता शिव राना र उपमहानगरपाकिलाका प्रेस विज्ञ सीपी खनाललाई पालैपालो सम्पर्क गर्दा कसैले पनि फोन रिसिभ गरेनन् ।
मेयर पाण्डेयकै जोडबलमा आएका भुसाल यति छोटो समयमै बुटवल छाड्ने निर्णयले पनि उनीहरू बीच विवाद रहेको अनुमान गर्न सकिन्छ ।