Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

एचआइभी सङ्क्रमित महिलाले जन्माइन् शल्यक्रियामार्फत शिशु

एचआइभी सङ्क्रमित महिलाले जन्माइन् शल्यक्रियामार्फत शिशु

११ मंसिर, बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्मदिएकी छिन् ।

आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ ।

शिशुका आमा बुबा दुवै एचआइभी सङ्क्रमित भई एआरटी औषधि सेवन गरिरहेका छन् । यसअघि बागलुङका एचआइभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो ।

एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले अस्पतालमा एचआइभी सङ्क्रमितको उपचार र परामर्श दिँदै आएको बताए । स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको शिशुको धड्कन बढी भएपछि शल्यक्रिया गरिएको धौलागिरि अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विजय ओझाले जानकारी दिए ।

शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य सामान्य रहेको र एचआइभी सङ्क्रमण नहोस् भनेर तुरुन्तै औषधि समेत चलाउन थालिएको ओझाको भनाइ छ ।

सङ्क्रमित आमाबाटसमेत स्वस्थ बच्चा जन्मिने भएकाले एचआइभी सर्ने सम्भावना अत्यन्तै न्यून रहेपनि उपचार र हेरचाह भने गर्न आवश्यक हुन्छ ।