Shares
Shares
मंसिर १३ ।
युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन । रुसी सेनामा भर्ना भएका तीन नेपालीको गत कात्तिक २९ मा भाईटिकाको दिन र अर्का एकको असार २९ मा मृत्यु भएको दूतावासद्वारा पुष्टि भएको छ।
रुस युक्रेन युद्धमा नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ । रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो ।
रुसी सेनालाई हवाला दिँदै नेपाली दूतावासले स्याङ्जाको पुतलीबजार नगरपालिका ५ ठूलास्वाँराका पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका ६ सुनारपानीटोलका राजकुमार रोका र इलामको इलाम नगरपालिका ५ का गंगाराज मोक्तानको ज्यान गएको जनाएको छ । र गोरखाका सन्दीप थपलियाको भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए ।
यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।
उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेयता ठूलो संख्यामा नेपालीहरू रुसी सेनामा भर्ना भएको अनुमान छ । दूतावासले चार जना मारिएको बताए पनि यो युद्धमा अरु नेपाली पनि परेको हुनसक्ने अनुमान छ ।
https://www.facebook.com/laligurashmedianetwork/videos/2303587539831265
नेपालीहरू गैरकानुनी रुपमा रुसी सेनामा भर्ना भएका हुन् । नेपालको कानुनले रुसी सेनामा भर्ना हुन दिँदैन । तर, रोजगारीका लागि भन्दै रुस पुगेकाहरू सेनामा भर्ती भएको पाइएको छ । थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।
परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन । रुस–युक्रेन युद्धमा नेपाली मारिन थालेपछि सोमबारदेखि परराष्ट्रमन्त्री एनपी साउदले आन्तरिक छलफल थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसबारे मंगलबार परराष्ट्र, गृह र रक्षा मन्त्रालयको नेतृत्वसँग चासो राखेका छन् । दूतावासले ज्यान गुमाएकाका परिवारलाई घटना बारे जानकारी दिन र शवको व्यवस्थापनका लागि सहजिकरण गरिदिन नेपालमा रहेको कन्सुलर सेवा विभागलाई अनुरोध गरेको छ ।
त्यसैगरी युक्रेनी सेनाको नियन्त्रणमा रहेका बर्दियाका २३ वर्षीय विवेक खत्रीको पनि रिहाइ भएको छैन । रुसको ‘एयरबोर्न फोर्स’ बाट युक्रेन पुगेका खत्रीलाई युक्रेनी सेनाले पक्राउ गरेको खबर परिवारले गत असोज २७ मा पाएको थियो । युक्रेन मामिला हेर्ने जर्मनीस्थित नेपाली दूतावासले खत्रीको रिहाइका लागि युक्रेनलाई अनुरोध गरिएको जनाएको छ । खत्री २०७९ कात्तिक ६ मा शैक्षिक परामर्शदाता ‘एनईओ नेपाल’ मार्फत मस्कोस्थित कलेज अफ टेक्नोलोजी एन्ड फाइनाइन्समा अध्ययनका लागि पुगेका थिए ।
रुस युक्रेनबीच २०७८ साल फागुन १२ गतेदेखि युद्ध चलिरहेको छ । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् भने झण्डै १० हजार मानिसको ज्यान गएको छ ।रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209