१८ मङ्सिर -इजरायल र हमासबीच युद्ध चर्किरहेकै बेला ११ जना नेपाली केयरगिभरको रूपमा काम गर्न इजरायल उडेका छन । अस्थायी युद्धविराम सकिएसँगै युद्धले थप नया गति लिईरहेको छ यसैबिचमा ११ जना नेपाली केयरगिभरको रुपमा काम गर्न इजरायल उडेका हुन ।
गत अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमण ग¥यो जसमा १० जना नेपाली विद्यार्थी मारिए । संगै ४ जना घाइते भए । यता लामोसयमदेखी नै कञ्चनपुरका बिपिन जोशीको अझै उद्दार हुन सकेको छैन । युद्धबिरामको बेला उनीको पनि रिहाई होला भनेर आशामा बसेका परिवारहरुमा निराशमा छायो । आक्रमणको क्रमको हमासको कब्जामा रहेका नागरिकहरुलाई छोडिरहदा बिपिन जोशीको भने रिहाई हुन सकेन ।
सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ। बिपिन जोशी कस्तो अवस्थामा छन भन्ने बारे वास्तविक जानकारी अझै आउन सकेको छैन । केही समयअघि आईडिएफले सार्वजानिक गरेको भिडियोमा उनलाई एक अस्पताल जस्तो ठाउमा लगिएको र उनी हमासको कब्जामा रहेको जानकारी आएको थियो । यता सरकारले उनको रिहाईका लागि बिभिन्न पहलहरु गरिरहेको बताएको छ । यतिबेला उक्त घटनापछि इजरायल उड्न लागेका २४ जना केयरगिभर रोकिएका थिए। २४ जनामध्ये ११ जना उडिसकेपछि बाकी रहेका १३ जना पनि चाडै जाने सरकारले जनाएको छ। इजरायल जान पाउनुपर्ने माग राख्दै उनीहरूले दबाब दिँदै आएका थिए।
नेपाल र इजरायलबिच भएको सहमतिअनुसार १ हजार भन्दा बढी नेपालीलाई इजरायलमा रोजगारीको अवसर प्रदान गरिएको थियो। दुई वर्षदेखि छनौटमा परेका केयर गिभरहरूलाई इजरायल लगिँदै आएको छ। अब अन्तिम चरणमा २४ जना बाकी थिए।
पछिल्लो दुई दिनमा इजरायलको गाजापट्टीमा गरेको आक्रमणमा परेर प्यालेस्टाइनका २ सय जना नागरिकको ज्यान गएको र ६ सय ५० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्यालेस्टाइनको विद्रोही समूह हमासले पनि इजरायलतर्फ आक्रमण बढाएको छ । हिजो कयौँ रकेटमार्फत हमासले आक्रमण गरेको खबरमा उल्लेख छ । इजरायलले अझै एक सय ३७ जना हमास समूहको बन्धकमा रहेको जनाएको छ । जसमा एक सय १५ जना वयस्क पुरुष र २० जना महिलासहित दुई जना बालबालिका रहेका इजरायलको भनाइ छ ।
यसैबीच, लेबनानको सीमा क्षेत्रमा इजरायल र इरान समर्थित हिजबुल्ला समूहबीच आक्रमण बढेको छ । हिजबुल्ला समूहले इजरायलतर्फ रकेट प्रहार गरेको छ । इजरायल र हमासबीच भइरहेको युद्धमा इरानले इजरायल विरुद्ध प्रतिक्रिया दिँदै आएको छ । यसैबिच अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले हमास–इजरायल युद्धमा भएको अपराधको छानबिन गर्ने भएको छ । आईसीसीका मुख्य अभियोजक करिम खानले इजरायल र हमासलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै आफ्नो कार्यालयले सम्भावित युद्ध अपराधको अनुसन्धानलाई तीव्रता दिने बताएका हुन् ।
खानले मानवीय सहायतालाई तुरुन्तै गाजामा पठाउन आह्वान गर्दै हमासले त्यस्तो सहायताको दुरुपयोग गर्नु नहुने बताए ।उनका अनुसार गाजालाई सहायताको डेलिभरीमा रोक लगाउनु पनि आईसीसीको अधिकार क्षेत्र अन्तर्गत युद्ध अपराध हुन सक्छ । आईसीसीको सदस्य नभएको इजरायलले यसअघि अदालतको अधिकार क्षेत्रलाई अस्वीकार गर्दै आएको छ । अदालतसँग इजरायल औपचारिक रूपमा संलग्न भने भएको छैन। सन् २०२१ मा इजरायलका साथै हमास र अन्य सशस्त्र प्यालेस्टिनी समूहहरूमाथि प्यालेस्टिनी क्षेत्रमा सम्भावित युद्ध अपराधको लागि अनुसन्धान खोलेको थियो ।