काठमाडौं । पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो ।
भारतसँगको सीमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताएका छन् ।
पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गर्दै ओलीले भने, ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ ।’
संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीले बताए । तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको बताए ।
‘देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको छ’,अध्यक्ष ओलीले भने ।