Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

संस्कृतिमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन

संस्कृतिमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेका छन् ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले गैरजिम्मेवार मन्त्री बर्खास्त गर, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर्र लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका किरातीले क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ उनले उत्तेजित बन्दै भनेका थिए ।

मन्त्रीको सोही अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएको छ । विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे ।

धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने पनि भन्दै उनी विरुद्ध विरोध प्रर्दशन भएको हो ।