काठामाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाव यात्रा सुरु गरेको छ ।
आइतबार सो पार्टीका सभापति रवि लामिछानेले आज देखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु भएको छ ।
११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको सो दबाब अभियानको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सो यात्रामा रास्वपाका नेता र सांसदहरू समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै पनि यो पटक समय छुट्याउन असमर्थ भएको सभापति लामिछानेले बताएका छन् ।
उनले यात्राका क्रममा बिच बिचमा स्वागत वा अन्य कार्यक्रम नराख्न समेत अनुरोध गरेका छन् । सभापति लामिछानेले भनेका छन्, ‘हाम्रो उद्देश्य साङ्केतिक रूपमा सरकारको ध्यानाकर्षण गराउनु हो । र, सवारी साधनको आवतजावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौँ ।’
सभापति लामिछानेले दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।
बुटवल–नारायणगढ सडक विस्तारको काम ५ वर्ष हुन लाग्दा जम्मा ४४ प्रतिशत मात्र प्रगति भएको छ । ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले कोरोना कहर र निर्माण सामग्री अभावको बहाना बनाउँदै काममा ढिलाई गरेको हो । सडक विस्तारको काम ढिलो हुँदा यस क्षेत्रका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्न बाध्य छन् । २०७५ माघमा काम सुरु गरेर तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सम्झौता थियो ।
तर, दुई पटक म्याद थप्दासमेत ५० प्रतिशत काम हुन सकेको छैन । ठेकेदार कम्पनीले भने २०८१ को असारसम्म ८५ प्रतिशत र २०८१ के चैत महिनासम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिएको चाइना स्टेट कर्पोरेसनका इन्जिनियर राकेश झाले बताए । १६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सडक २०८१ को असार मसान्तसम्म मात्र म्याद छ ।
यस अवधिमा ७० प्रतिशत मात्र काम सकिने ठेकेदार कम्पनीको भनाइ छ । सरकारले लगातार दबाब दिइरहेको भए पनि ठेकेदार कम्पनीले सम्झौता समयअनुसार काम नगरेर आफ्नो अनुकूल समय निर्धारण गरेर काम गरिरहेको छ । सोहीअनुसार तेस्रो पटक म्याद थप गर्ने ठेकेदार पक्षको तयारी छ । नारायणगण–दाउन्ने ६५ किमि र दाउन्ने÷बुटवल खण्ड ४९ किमि सडक विस्तारको काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा ४० प्रतिशतको हाराहारीमा मात्र काम सकिएको छ । त्यसैले रास्वपाले दबाब स्वरुप आजबाट यात्रा सुरु गरेको हो ।