Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गोपाल हमाल विरुद्ध सर्वोच्चमा रिट दायर, आफुखुसी कार्यविधि पास गरेको आरोप

गोपाल हमाल विरुद्ध सर्वोच्चमा रिट दायर, आफुखुसी कार्यविधि पास गरेको आरोप

काठमाडौँ । बालेन, रवी र हर्क पछिको चर्चामा आउने अर्को नाम हो धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल । गोपाल हमाल धनगढीमा एउटा राम्रो काम गर्ने व्यक्तीका रुपमा चिनिन्छन् । स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएर राम्रो काम गरिरहेका हमाल यतीबेला चारैतिरबाट आक्रमणमा परेका छन् । उनी महानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधिको विवादमा मुछिएका छन् । अहिले उनलाई विपक्षी बनाएर चुलीएको विवाद सर्वोच्च अदालत सम्म पुगेको छ ।

जग्गा प्लटिङसम्बन्धी कार्यविधिको सो विवाद सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली धनगढीको सर्वोच्च अदालत पुगेको छ ।

यतीबेला मेयर हमाललाई बैठकमा पारित नभएको प्रस्ताव आफुखुसी राजपत्रमा प्रकाशित गरेको आरोप छ । तर मेयर हमालले भने प्रस्तावमा कसैले पनि नोट अफ डिसेन्ट नलेखेकाले पास भएको दाबी गरेका छन् ।

घटना के थियो भन,े मंसिर २४ गते कार्यपालिका बैठक बसेको थियो, जहाँ जग्गा प्लटिङसम्बन्धी कार्यविधि पनि पेश भएको थियो ।

जसमा नयाँ जग्गा प्लटिङमा सडकको चौडाइ कम्तीमा १० मिटर कायम गर्नुपर्ने उल्लेख थियो । तर, ५÷७ धुर जमिनमा घर नै बनाउन नमिल्ने गरी कार्यविधि पास गरेको भन्दै हमाल विरुद्ध रिट परेको हो ।

उपमहानगरपालिका कार्यालय र मेयर गोपाल हमाललाई विपक्षी बनाएर कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिटको सुनुवाइ ११ पुसका लागि तोकिएको छ ।

यही आइतबार कार्यपालिका सदस्यले गरेको पत्रकार सम्मेलनमा धनगढी–१ का वडाध्यक्ष सन्तोष मुडभरीले मेयरले प्रक्रिया मिचेर अवैध राजपत्रमा प्रकाशित गरिएको आरोप लगाए । यसैगरी कार्यपालिकाका अन्य सदस्यहरुलेपनि आफुखुसी निर्णय गरेको आरोप लगाएका छन् ।

२४ मंसिरमा बसेको उक्त बैठकको लाइभ गरिएको थियो । उक्त लाइभमा बैठकमा उपमहानगरका इन्जिनियर द्विजराज भट्टले जग्गा प्लटिङ कार्यविधिसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

केही कार्यपालिका सदस्यले प्रस्तावबारे अध्ययन गरेर अर्को बैठकबाट पारित गर्नुपर्ने बताए भने केहीले नगरसभाबाटै पारित गर्नुपर्ने धारणा राखे । तर नगर प्रमुख हमालले कार्यविधिबारे असहमति भए नोट अफ डिसेन्ट लेख्नुस्, तर कार्यविधि आजकै बैठकबाट पारित गर्नुपर्छ भनेका रहेछन् ।

तर बैठकमै उनलाई आफुखुसी राजपत्रमा कार्यविधि प्रकाशित गरेको आरोप लाग्यो । कार्यविधि पास भएपछि ३ पुसमा वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐर बाहेकका २६ जना बहुमत कार्यपालिका सदस्यले बैठक गरेर राजपत्रमा प्रकाशित खारेज गराउने निर्णय गरेका थिए ।

यता मेयर हमालले भने राजनीतिक घेराबन्दी भएको बताएका छन् । धनगढीको बस्ती विकासलाई पर्यावरणमैत्री र सडक सुरक्षामैत्री बनाउने दीर्घकालीन उद्देश्यसहित जग्गा प्लटिङ कार्यविधि ल्याएको उनको भनाई छ ।

कार्यपालिका बैठकमा कार्यविधिमाथि छलफल भएको र असहमतीहरुलाई नोट अफ डिसेन्ट लेख्न दिएको बताए । उनले बैठमा कार्यविधि पास सम्वन्धमा असहमतीहरुले हात उठाउन भनेका थिए । तर कसैले पनि हात खडा नगरेपछि उक्त कार्यविधि पास गरिएको हमालको भनाई छ ।

तर पछि राजनीतिक घेराबन्दीमा पारेर आफुलाई आरोप लगाईएको मेयर हमालको भनाई छ ।