काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शवलाई गृहजिल्ला पठाउने तयारी गरिएको छ । अहिले उनिहरुको शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र्पुयाइएको छ । गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् ।
दुवै जनाको शवलाई पाटन अस्पतालमा पोस्टमार्टम गरिएको हो । उनिहरु दुवैको शवलाई नेपाली सेनका स्काई ट्रक एन ए–०६४ मार्फत सुर्खेत लैजाने तयारी गरिएको गरिएको छ ।
पोस्टमार्टम पछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको एसपी कार्कीले जानकारी दिएका छन् । सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ ।
पुस १३ गते शुक्रबार बालकुमारीमा भएको घटनामा उनिहरुको ज्यान गएको थियो । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका हुन् ।
सुजन रावतको छातीमा निलडाम देखिएको थियो भने वीरेन्द्र शाहको पेटमा गोली लागेको थियो । शाहलाई प्रहरीले प्रहार गरेको सेल्फ लोडिङ् राइफल ९एसएलआर० को गोली लागेको पुष्टि भएको छ ।
मृत्यु पश्चात उनिहरुलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । मृत्यु भएका युवकका परिवार र सरकारबीच सोमबार भएको चारबुँदे सहमतिमा उनीहरूलाई सहिद घोषणा गर्ने र मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारी दिने समझदारी भएको हो ।
प्रदर्शनमा मृत्यु भएका अछामका वीरेन्द्र शाहका बुबा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहवर बसेका छन् ।
सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकको शवलाई सम्बन्धित जिल्लामा र्पुुयाउन गृह मन्त्रालयले प्रबन्ध मिलाउने उल्लेख छ । रोजगारीका लागि कोरिया पठाउनका लागि लिइने परीक्षासम्बन्धी विवादमा झडप हुँदा उनीहरूको मृत्यु भएको थियो । शाहको प्रहरीको गोली लागेर तथा राउतको प्रहरी कुटपिटबाट मृत्यु भएको थियो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घटनाका विषयमा उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग पनि गठन गरेको छ । आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी तथा गृह मन्त्रालयका सहसचिव नारायण भट्टराई छन् । आयोगलाई एक महिनाको कार्यादेश दिइएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि डिआइजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।