काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह याक्सनमा उत्रिएका छन् । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै बालेनले महानगरपालिकाका तीन कर्मचारी निलम्बन गरेका छन ्। जागीर मिलाउन मिलेमतो गरेको भन्दै मेयर शाहले तीन कर्मचारीलाई निलम्बन गरेका हुन् ।
मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् । मेयर निलम्बन पर्नेहरुमा शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेको बताईएको छ । ‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, मेयरको सचिवालय स्रोतले भन्यो । पछिल्लो समय मेयर बालेन आए पछि महानगरमा निक्कै कडाई गरिएको छ ।
उनले महानगरभित्रका विभिन्न विषयलाई मध्येनजर गर्दै निकै कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले कर्मचारी नियुक्ती देखी लिएर सबै प्रशासनिक काममा कडाई गरेका छन् । महानगरपालिका स्रोतका अनुसार महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंका छ ।
जसकारण उनले महानगर प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी समेत यो प्रकरणमा जोडिएको पाइएपछि मेयर बालेन शाह आफैंले यसको छानबिन थालेको र छानविनमा दोषी देखिएकालाई निलम्वन गरिएको महानगर स्रोतले बताएको् छ ।
स्रोतका अनुसार कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि उनीहरु छानबिनमा तानिएका हुन् । सो स्वास्थ्य प्रवर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेकामा यसवर्ष सहायता बन्द भएको थियो ।
सेवा सञ्चालन गरिराख्न कार्यपालिका बैठकले ५ जना मात्र कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, निर्णय लेखिँदा संख्या थप भएपछि मेयर शाहले नै यसबारे छानबिन थालेका हुन् । ‘एक कर्मचारीको छोरीलाई जागिर दिलाउन मिलेमतोमा संख्या थपिएको पाइएको छ’, स्रोतले भन्यो, ‘कार्यपालिकाको निर्णय नै तोडमोड गर्ने अधिकार कसैलाई हुँदैन ।’ १९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले ५ जना मात्रै कर्मचारीलाई निरन्तरता दिन प्रस्ताव गरिएको र कार्यपालिकाले पनि त्यही निर्णय गरेको बताएका छन् । ‘तर, केही गडबडी भयो भन्ने सुनेको छु, के भयो भन्ने थाहा छैन’, उनले भनेका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले स्वास्थ्य प्रवद्र्धन शाखासम्बन्धी विषय छानबिनकै क्रममा रहेकाले यसबारे बोल्न नमिल्ने बताएका छन् । ‘मेयरसा‘बले नै छानबिन अघि बढाउनुभएको छ’, उनले भने, ‘छानबिन नसकी यसबारे केही भन्न मिल्दैन ।’