काठमाडौँ । धरान उपमहानगरपालिकाले पनि अब सुर्तीजन्य पर्दाको किनबेचमा रोक लगाउने भएको छ । उपमहानगरपालिका भित्र भोला गुट्का लगायतका सुर्तीजन्य सामाग्री बेच्न नपाइने नीति लागु हुने धरानका मेयर हर्क सम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले धरनवासीहरुको स्वास्थ्यलाई मध्येनजर गदै सुर्तीजन्य पदार्थ, भोला गुट्का, खैनी, चुरोट, तमाखु जस्ता पदार्थहरुको किनबेचमा रोक लगाउने भएका हुन् । तर कतिको सफल होला त उनको यो प्रयास ।
यसअघि काठमाडौँ महानगरपाकिाले पनि महानगरभित्र सुर्तीजन्य पर्दार्थ किनबेचमा रोक लगाएको थियो । काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिए पसल बन्दसम्म गराउन सक्ने सूचना सार्वजनिक गरी पसल अनुगमन समेत थालेको थियो । खैनी ,चुरोट, गुट्खा, सुर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हो भन्दै महानगरपालिका मेयर बालेन शाहले थालेको यो प्रयास भने असफल हुन पुग्यो ।
उनले महानरपालिका भित्र सुर्तीजन्य पदार्थ बेच्न नपाउने सुचना जारी गरेको केही समय नवित्दै सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश आएको थियो । उच्च अदालत पाटनले तत्काल यो निर्णय लागु नगर्न आदेश दिएको थियो ।
महानगरले मंसिर १२ गते १५ दिने सूचना प्रकाशन गर्दै प्लास्टिकमा प्याक गरिएको सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको थियो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र मदिरा, सुर्तीजन्य, पदार्थहरु बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लास्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको सेवनका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोर मैला बढ्न गई सहरको सुन्दरतामा प्रतिकूल प्रभाव परेको बताउँदै यसको बिक्री वितरण तथा सार्वजनिक स्थानमा प्रयोग गर्न महानगरले रोक लगाएको थियो । तर महानगरको यो प्रयास असफल हुन पुग्यो ।
उता धनगढीमा पनि सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । धनगढी उपमहानगरपालिकाले एक सूचनामार्फत आगामी माघ १ गतेदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको हो ।
चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनामा भनिएको छ ।
बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने धनगढीका मेयर गोपाल हमाले जनाएका छन् ।
यसरी देशका ठुला सहरहरुमा स्वातन्त्र मेयरहरुले सुर्तीजन्य पदार्थको विक्री वितरण रोक लागाउने प्रयास गरिरहेका छन् । तर काठमाडौँ महानगरमा भने उच्च अदालतले नेपाल सरकारको नीतिअनुरुप नै सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूले २०८१ बैशाखदेखि अनिवार्य रुपमा लागू हुने गरी जैविक रुपमा सडेर जाने बायो डिग्रेडेबल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउन आवश्यक थप लगानी र तयारी गरिरहेको बताउँदै हाललाई यो निर्णय नगर्न अन्तरिम आदेश दिएको हो ।