काठमाडौं, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हाल्दै राजधानीको सुरक्षा र अपराध नियन्त्रणमा उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पदभार ग्रहणपछि आयोजित कार्यक्रममार्फत एसएसपी अधिकारीले परिसरका वरिष्ठ प्रहरी अधिकृत, वृत्त, र प्रभाग प्रमुखहरूसँग परिचयात्मक अन्तरक्रिया गर्दै आगामी कार्ययोजनाबारे विस्तृत निर्देशन दिनुभयो।
एसएसपी अधिकारीले नेपालको संविधान र कानुनअनुसार अपराधको रोकथाम र अनुसन्धानलाई प्रभावकारी बनाउँदै जिल्लावासीलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने लक्ष्य अघि सार्नुभयो। उहाँले चौबिसै घण्टा क्रियाशील रहँदै अपराध नियन्त्रणमा कुनै कसर बाँकी नराख्न मातहतका सबै प्रहरी अधिकारीलाई निर्देशन दिनुभयो।
परिसर प्रमुख अधिकारीले प्रत्येक सेवाग्राहीलाई सम्मानका साथ सेवा प्रदान गर्न जोड दिँदै “We Count Every Contact” को सिद्धान्तलाई लागू गर्ने घोषणा गर्नुभयो। उहाँले परिसर र मातहतका सम्पर्कमा आउने सबै व्यक्ति प्रहरी सेवाका ग्राहक भएकाले तिनीहरूको कानुनी आवश्यकता तत्काल सम्बोधन गर्न संवेदनशील बन्नुपर्नेमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
राजधानी काठमाडौं राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक र पर्यटनको केन्द्र भएकाले यहाँको सुरक्षा प्रबन्धलाई उत्कृष्ट बनाउन प्रहरी टोलीले “Lead by Example” को सिद्धान्तअनुसार नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रत्येक गतिविधिमा वैज्ञानिक दृष्टिकोण लागू गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यसम्पादन सुधारका लागि मूल्याङ्कन र प्रोत्साहन प्रणाली
एसएसपी अधिकारीले संगठनको लक्ष्य प्राप्तिका लागि प्रत्येक कार्यलाई मापनयोग्य बनाउँदै सूचकहरू विकास गरी कार्यसम्पादनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई प्रोत्साहन र पुरस्कृत गर्दै प्रहरी संगठनमा उच्च मनोबल कायम गरिने बताउनुभयो।
अधिकारीले नेपालको राजधानीको विशेषता र संवेदनशीलतालाई ध्यानमा राख्दै, शान्ति सुरक्षा कायम गर्न सुदृढ प्रणाली निर्माण गर्ने योजना अघि सारेका छन्। उहाँले कानुन कार्यान्वयन, अपराध नियन्त्रण र सेवामुखी व्यवहारलाई प्रहरी संगठनको मुख्य प्राथमिकताका रूपमा परिभाषित गर्नुभयो।
एसएसपी अधिकारीको नेतृत्वमा काठमाडौं प्रहरी परिसरले शान्ति सुरक्षाको क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने अपेक्षा गरिएको छ।