ललितपुर, चापागाउँ – प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी० टेक बहादुर तामाङको प्रमुख आतिथ्यमा चापागाउँ प्रहरी परिसरभित्र पुनर्निर्मित भगवती मन्दिर तथा नवनिर्मित मन्दिर प्रवेशद्वारको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी तामाङको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ललितपुर जिल्ला प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, एसएसपी शेखर खनाल , राष्ट्रिय अनुसन्धान ललितपुरका प्रमुख रमेश यादव, लगायत विभिन्न सरकारी तथा स्थानीय निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, नागरिक समाजका व्यक्तित्वहरू, सञ्चारकर्मीहरू तथा आम नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पुनर्निर्मित भगवती मन्दिरले चापागाउँ क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। मन्दिर पुनर्निर्माणमा स्थानीयवासी, प्रहरी प्रशासन तथा विभिन्न संघसंस्थाहरूको सहकार्य महत्वपूर्ण रहेको बताउँदै एआइजी तामाङले मन्दिरको संरक्षण तथा धार्मिक सम्पदाको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका अन्य वक्ताहरूले पनि चापागाउँ क्षेत्रमा धार्मिक, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्न यस्ता पहलहरू आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।