काठमाडौं । कागेश्वरी मनोहराको मुलपानीस्थित माउन्ट एभरेष्ट स्कूलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। माननीय डा। शूनिल कुमार शर्माको विशेष सहयोगमा सञ्चालन गरिएको शिविरमा ४९५ जनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकको टोलीले इसिजी, ल्याब, भिडियो एक्सरे तथा दन्त उपचार सेवा उपलब्ध गराएको थियो। २४ जनाको इसिजी परीक्षण, ५७ जनाको ल्याब परीक्षण तथा ५३ जनाको भिडियो एक्सरे गरिएको थियो। साथै, ९ जनाको दाँत निकालेको उपचार गरिएको छ। भने २५ जनालाई थप उपचारका लागि केएमसी अस्पतालमा रिफर गरिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए।
स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य समस्याबारे चिकित्सकीय परामर्श र उपचार सेवा लिएका छन्। स्थानीयले यस्ता शिविरले स्वास्थ्य सेवासम्म पहुँच पुर्याउन ठूलो सहयोग गर्ने भन्दै खुसी व्यक्त गरेका छन्।
आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

