Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार

गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार

गण्डकी । गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ । ती परिवारका १२ लाख २१ हजार पाँच सय ७१ सदस्यहरूको विवरण अद्यावधिक गरी व्यक्तिगत स्वास्थ्य सङ्केत नम्बर प्रदान गरिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्घ सरकारको नीतिअनुरूप प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोफाइल तयार पारेको हो ।

निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार प्रदेशमा थप १५ स्थानीय तहमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न बाँकी छ । स्थानीय तहसँगको सहकार्यमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिएको उनले बताए । ‘परिवारका हरेक सदस्यको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्रोफाइलमा समेटिएको छ’, महाननिर्देशक खड्काले भने, ‘क्यूआर कोडमार्फत हरेक व्यक्तिको स्वास्थ्य विवरण सुरक्षित र अद्यावधिक गर्न मिल्ने गरी व्यवस्था हुँदैछ ।’

व्यक्तिगत स्वास्थ्य विवरण गोप्य रहने उनको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्वास्थ्यकर्मी घरदैलोमै पुगेर तथ्याङ्क सङ्कलन गरी पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरेको बताए । ‘पारिवारिक स्वास्थ्य प्रोफाइलले वास्तविक सेवाग्राही सङ्ख्या पनि एकीन गर्न सजिलो भएको छ’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी नीति निर्माण र योजना तर्जुमा गर्न पनि यसबाट राज्यलाई मद्दत पुग्छ ।’ बिरामीको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न र उपचारमा सहजीकरण गर्न पनि पारिवारिक स्वास्थ्य प्रोफाइलले सघाउने प्रमुख सापकोटाले बताए ।