Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लहान नगरपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर बिरामीको निःशुल्क परीक्षण शिविर सुरु

लहान नगरपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर बिरामीको निःशुल्क परीक्षण शिविर सुरु

सिरहा । लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतबार वडा नं १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो ।

समयमै रोग पहिचान भएमा उपचार गर्न सहज होस भन्ने उद्देश्यले यस शिविर सञ्चालन गरिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए । “गाउँघरमा लुप्त रूपमा बिरामी रहेका हुन्छन् । उनीहरूको पहिचान गर्न र थप उपचार गर्न सजिलो होस भनेर हामीले यो कार्यक्रम सुरु गरेका हौँ”, उनले भने, “चेकजाँच गरेर थप उपचारका लागि स्वास्थ्य संस्था पठाउँछौँ ।”

नियमित औषधी सेवन गरिरहेका बिरामीलाई शिविरमार्फत औषधी पनि वितरण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए।  लहान नगरपालिकामा १२ वटा स्वास्थ्य चौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्र छन् ।

त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीलाई एक सातासम्म घरघरमा खटाएर ‘स्क्रिनिङ’ गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए । नगरपालिकाले गत वर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । त्यतिखेर चार हजार बढी स्थानीयले आफ्नो स्वास्थ्य चेकजाँच गराएका थिए ।