अमेरिकामा रहेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई फेसबुक मार्फतनै पत्र पठाएका छन। नेपालको सिमालाइ फेरी भारतले दाबि गरेपछि शाहीले आक्रामक रुपमा सामाजिक संजालमै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका छन।
शाहीले फेसबुकमा लेखेका छन
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपालको वर्तमान अवस्था र विशेषगरी लिपुलेक, लिम्पियाधुरा, र कालापानीका सम्बन्धमा देखिएका चुनौतीहरूप्रति तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु।
हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भूमरीमा फसेको देख्दा हामी चिन्तित छौँ। अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो। तर, नेपालको सहमतिबिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर चीन र भारतबीच भएको सम्झौताले हामी नेपालीको राष्ट्रिय अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
यो संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता झनै बढेको छ। राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन। यसर्थ, तपाईंले सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न संघसंस्थाहरू र आम नेपालीहरूलाई एकताबद्ध गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नका लागि तत्काल पहलकदमी लिनुहुन हार्दिक अनुरोध गर्दछु।
राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ। यसका सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौँ।