डडेलधुरा, नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण स्थान ओगट्ने जिल्ला हो। यही जिल्लाबाट मुलुककै प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा निर्वाचित हुँदै आएका छन्। तर यही क्षेत्रबाट विगत निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस सभापति देउवालाई चुनौती दिएका युवा उम्मेदवार सागर ढकाल अहिले फेरि चर्चामा आएका छन्।
सागर ढकालको भाषण सुन्दै डडेल्धुराबासि
२०७९ सालको आम निर्वाचनमा शेरबहादुर देउवासँग अलिकति मतले मात्र पराजित भएका ढकाल अहिले आगामी २०८४ को तयारीमा जुट्दैछन्। रोचक कुरा के भने, यसपटक उनले आफ्नो भविष्यलाई स्वतन्त्र हैसियतमा होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डामुनि अघि बढाउने संकेत देखाएका छन्।
रास्वपा नेताहरूसँग नजिकिँदै
गत केही महिनादेखि सागर ढकाल रास्वपा नेताहरूसँग नजिकिँदै गएको चर्चा चल्दै आएको थियो। रुपन्देहीमा चुनाव लड्ने सम्भावनाको हल्लाह चलिरहेको बेलामा भने उनी तत्कालै रास्वपाको गतिविधिमा देखिएका थिएनन्। तर पछिल्ला दिनमा उनी रास्वपाको कार्यक्रममै उपस्थित भई खुलेर अभिव्यक्ति दिन थालेका छन्।
रवि लामिछानेसँग निरन्तर सम्पर्क
ढकालको रास्वपाप्रतिको आकर्षण केवल बाहिरी प्रचारमा सीमित थिएन। विश्वसनीय स्रोतका अनुसार, उनले पार्टी अध्यक्ष रवि लामिछानेसँग जेलमै घन्टौँसम्म कुराकानी गर्ने गरेका थिए। लामिछाने जेलमा रहेकै समयमा ढकालले भेटेर लामो राजनीतिक संवाद गरेका थिए भन्ने तथ्य पनि बाहिर आएको छ। यसले ढकाल र रास्वपाबीचको सम्बन्ध केवल औपचारिक नभई गहिरो रुपमा तयार हुँदै गएको देखाउँछ।
डडेलधुराबाटै सुरुवातको चाहना
सागर ढकालले औपचारिक रुपमा रास्वपामा प्रवेश गर्ने तयारी गरिरहेका छन्। उनी अहिले उचित समयको पर्खाइमा रहेको बताइन्छ। तर पार्टी प्रवेश घोषणा अघि नै उनी आफ्नै चुनावी क्षेत्र डडेलधुरामा रास्वपाको झण्डामुनि भाषण गरिरहेका छन्। पार्टीका सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य दिपक बोहरा र प्रमोद न्यौपानेसहितको टोलीसँग उनले डडेलधुरामा खुलेरै आफ्नो अभिव्यक्ति राखे। यसबाट उनले अब आफ्नो आगामी राजनीतिक यात्रा रास्वपाकै ढोकाबाट सुरु गर्ने निर्णयमा पुगेको संकेत देखिन्छ।
सागर ढकालको कदमले के सन्देश दिन्छ ?
सागर ढकाल जस्तो युवाले रास्वपामा प्रवेश गर्न लागेको संकेतले दुईवटा महत्वपूर्ण सन्देश दिन्छ। पहिलो, रास्वपाले देशभरका असन्तुष्ट र स्वतन्त्र पृष्ठभूमिका युवाहरूमाझ प्रभाव विस्तार गर्दैछ। दोस्रो, डडेलधुरा जस्तो परम्परागत राजनीतिक गढमै रास्वपाको छवि निर्माण गर्न खोजिएको छ।
शेरबहादुर देउवाको बलियो पकड भएको क्षेत्रमा सागर ढकालको प्रवेशले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने संकेत गर्दछ। ढकालले गतपटक नै उच्च मत ल्याएर आफ्नो प्रभाव देखाइसकेका छन्। अब रास्वपाको संगठनात्मक शक्ति र प्रचारसामर्थ्यसँग मिलेर उनी पुनः मैदानमा उत्रिए भने डडेलधुराको राजनीतिक समीकरण बदलिन सक्छ।
अहिले नै औपचारिक पार्टी प्रवेश नगरे पनि ढकालको गतिविधिले स्पष्ट देखाउँछ— उनी अब स्वतन्त्र बाटो होइन, रास्वपाकै नेतृत्वमा राजनीति गर्ने तयारीमा छन्।