सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेनिकट पर्यटन व्यवसायीहरूलाई हराउदै नेपाल पर्वतारोहण संघमा माओवादी र रास्वपा निकट पर्यटन ब्यवसायिहरुका साझा उम्मेदवार फुर गेल्जे शेर्पा बिजयी भएका छन । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका हुन ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए । नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई साथ दिएका थिए । सत्ता गठबन्धनको समूहलाई पराजित गर्दै शेर्पा समूह निर्वाचित भएको हो ।
संघको निर्वाचनबाट प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा विपक्षी गठबन्धन निर्वाचित भएका हुन् । फुर ३४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन् ।
शेर्पाले कुलबहादुर गुरुङलाई ५४ मतले पराजित गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा विजयी भए । उनले ३५९ मत पाएका थिए भने अर्का प्रतिस्पर्धी काजी शेर्पाले २५६ मत पाए ।
द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी धनबहादुर गुरुङले २३८ मत पाए ।महासचिव पदमा राजेन्द्रबहादुर लामा विजयी भएका छन् । उनले ३१८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विमल नहर्कीले २०९ मत पाए । यसैगरी शिव सापकोटाको पक्षमा ६८ मत परेको थियो ।
सचिव पदमा चन्दन थापा ३५८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी ङिमा दिकी शेर्पाले २४४ मत पाइन् ।कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबर ३०४ मत पाए । उनीहरुबीच आधा आधा कार्यकाल चलाउने सहमति भएको छ ।सदस्यहरुमा माधवकुमार धमला, केदार न्यौपाने , थुप्देन शेर्पा, गोकुल थापा , मुलाल गुरुङ , देण्डी शेर्पा , विक्रम कार्की , रिञ्जे शेर्पा , देवेन्द्र डंगोल , दिकी शेर्पा र निशा भोटे मत पाएका छन् ।