काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका–६ स्थित पृथ्वी माध्यमिक विद्यालयमा फैलिएको ‘विद्यार्थी अपहरण’ को हल्ला निराधार भएको खुलेको छ। विद्यालय प्रशासनले एक विज्ञप्ति जारी गर्दै सो हल्ला सत्य नभएको र विद्यार्थीको बनावटी कथा रहेको स्पष्ट पारेको हो।
विद्यालयका अनुसार, कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीले गृहकार्य नगरेको कारण देखाउँदै आफूलाई अपहरण गर्ने प्रयास भएको भन्ने झूठो कथा बनाएको खुलेको छ। प्रारम्भिक चरणमा उक्त विद्यार्थीसँगै रहेका अन्य केही साथीहरूले पनि भ्रमपूर्ण विवरण दिएका थिए, जसका कारण समुदायमा भ्रम फैलिएको थियो।
विद्यालय परिवार, इलाका प्रहरी कार्यालय पुर्कोट, अभिभावक, शिक्षक, पत्रकार र स्थानीय बासिन्दाको सक्रिय खोजतलासपछि उक्त घटना सत्य नभई काल्पनिक भएको पुष्टि भएको हो। विद्यालयका प्रधानाध्यापक मदन बहादुर कुँवर क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो घटना वास्तविक नभई विद्यार्थीको बहाना मात्रै हो।”
विद्यालयले हाल शान्तिपूर्ण वातावरणमा पठनपाठन नियमित रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै, यस्ता अफवाहमा नफस्न सबैलाई आग्रह गरेको छ। साथै, यस घटनाको सत्यता पत्ता लगाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति विद्यालय व्यवस्थापन समिति र विद्यार्थी परिवारले आभार व्यक्त गरेका छन्। कंकेदेउरालीबाट मंगलबार पृथ्वी मावि, पुर्कोटमा पढ्न जाँदै गरेका विद्यार्थी अपहरणको समाचार बाहिर आएपछि जिल्लाभर सनसनी फैलिएको थियो ।
हेर्नुहोस विज्ञप्ती
