काठमाडौँ । नेपाल प्रहरीका ३१ औं महानिरीक्षक (आईजीपी) दिपक थापाको कार्यकाल आजबाट औपचारिक रूपमा सम्पन्न भएको छ। उनले प्रहरी सेवामा ३० वर्षे सेवा अवधि पूरा गरेसँगै अनिवार्य अवकाश प्राप्त गरेका हुन्।
आईजीपी थापा २०८१ चैत ४ गते नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएका थिए। उनले ६ महिनासम्म प्रहरी प्रमुखको रूपमा नेतृत्व सम्हाल्दै विभिन्न चुनौतीहरूबीच संगठनको नेतृत्व गरेका थिए। थापाले सेवा अवधिभर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आफूलाई कुशल र अनुशासित अफिसरका रूपमा परिचित गराएका थिए।
उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि आजैबाट अवकाशमा गएका छन्। ती तीनैजना २०५२ साल भदौ १८ गते नेपाल प्रहरीको इन्स्पेक्टर पदमा सेवा प्रवेश गरेका थिए। उनीहरूको अवकाशसँगै हाल नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुने भएका छन्। यसअघि एआईजी कृष्णहरि शर्मा पोखरेल उमेर हदका कारण गत साता अवकाशमा गइसकेका थिए।
यसैबीच, नयाँ प्रहरी महानिरीक्षकका रूपमा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरिएको छ। उनी भदौ १९ गतेदेखि लागू हुने गरी आईजीपीमा पदोन्नति भएका हुन्।
आईजीपी थापाको बिदाइका लागि आज बिहान गृह मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ। त्यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले दिउँसो २ बजे बिदाइ कार्यक्रम तय गरेको छ। उक्त समारोहमा निवर्तमान आईजीपी थापाले औपचारिक रूपमा आफ्नो कार्यभार नव नियुक्त आईजीपी चन्द्रकुवेर खापुङलाई हस्तान्तरण गर्नेछन्।