काठमाडौँ । एमालेका नेता सवार गाडीले ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भाग्न खोजेको भेटिएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएर भाग्न खोजेको हो ।
आज बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको हो । मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको भिडियो पनि सार्वजनिक भएको छ ।
उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको देखिएको छ । ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन्। बालिका सडकमै लडे पनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ। गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।