काठमाडौँ । जेनजीको आव्हानमा आयोजित प्रदर्शन आज संसद भवन अगाडि हिंसात्मक झडपमा परिणत भएको छ। माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर केही समय रोकिए पनि, प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोड्दै संसद भवन अगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको हो।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको छ। उनीहरूलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने संसद भवन बाहिरको पर्खाल समेत फुटाएको छ।
सुरक्षाकर्मीले संसद भवन वरपर सुरक्षा घेराबन्दी कडा बनाएका छन्। प्रदर्शन स्थलमा थप प्रहरी बल परिचालन गरिएको छ।
प्रदर्शनकारीले सामाजिक र राजनीतिक सुधारको माग गर्दै सडकमा उत्रिएका थिए। तर, शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्दा जनधनको क्षति हुने सम्भावना बढेको सुरक्षा निकायको भनाइ छ।