काठमाडौं, आज भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका २५६ जनाको देशभरका विभिन्न ११ वटा अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये ६ जनाको ज्यान गएको छ।
सबैभन्दा धेरै घाइतेहरूको उपचार निजामति कर्मचारी (सिभिल) अस्पतालमा भइरहेको छ, जहाँ १०० जना घाइते भर्ना भएका छन्। तीमध्ये १५ जनालाई थप उपचारका लागि वीर र त्रिवि ट्रमा सेन्टरमा रिफर गरिएको छ भने सिभिल अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
ट्रमा सेन्टरमा ४९ जना घाइतेको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् व्यवस्थापन योजनाअन्तर्गत आकस्मिक उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
वीर अस्पतालमा ६ जना, त्रिवि शिक्षण अस्पतालमा १८ जना, र पाटन अस्पतालमा ४ जना गम्भीर घाइतेको उपचार भइरहेको छ।
एभरेष्ट अस्पतालमा ३४ जना घाइते उपचाररत छन्, जसमध्ये ७ जना गम्भीर अवस्थामा छन्। मन्त्रालयका अनुसार सो अस्पतालमा ३ जनाको मृत्यु भएको छ।
काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३२ जना घाइतेको उपचार भइरहेको छ, जसमा ६ जनाको शल्यक्रिया आवश्यक परेको जनाइएको छ।
नर्भिक अस्पतालमा ३ जना, गण्डकी मेडिकल कलेज (कास्की) मा १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, र झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारमा संलग्न सबै अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री तथा जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।