काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशमा तत्काल अन्तरिम सरकार गठन गरी संसद् विघटन गर्नुपर्ने सुझाव दिएका छन्। जेन–जी पुस्ताले अघि सारेको परिवर्तनलाई संस्थागत गर्न यस कदम आवश्यक भएको उनको भनाइ छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर शाहले अन्तरिम सरकारको मुख्य दायित्व नयाँ चुनाव गराउने र देशलाई ताजा जनादेश दिने हुने स्पष्ट पारेका छन्।
उनी भन्छन्, “देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने र देशलाई नयाँ जनादेश दिने हो।”
शाहले अन्तरिम र चुनावी सरकारको नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई उपयुक्त व्यक्तित्वका रूपमा समर्थन पनि जनाएका छन्।
त्यस्तै, तत्काल नेतृत्वमा आउन आतुर देखिएका विभिन्न पक्षलाई संयमता अपनाउन आग्रह गर्दै उनले भनेका छन्, “तपाईंहरूको जोश, सोच र इमानदारी देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै, कृपया हतार नगर्नु होला।”