काठमाडौँ, जेन जीको आन्दोलनका कारण अन्यौलमा रहेको दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी भईरहेको छ । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुने भएको छ । अबको ८ दिनपछि घटस्थापना ,१५ दिनपछि फुलपाती, १६ दिनपछि अष्टमी र १८ दिनपछि दशैको टिका परेको छ । दशैको आगमनसंगै यतिबेला बिदेशबाट फर्किनेहरुको पनि लर्को लागिरहेको छ । दशैका गितहरु पनि धमाधम आउन थालेको छ । र यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले दशैंको अग्रिम टिकट बुकिङको विषयमा छलफल गर्न आज दिउँसो बोलाएको बताए । वर्षेनी दशैंमा मान्न २० देखि २५ लाख बढिको हाराहारीमा सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने गरेको विगतका तथ्याङ्कले देखाउँछ । तर, दशैंको समयमा सर्वसाधारणलाई घर जान र आउन कै सास्ती हुनु कुनै नौलो कुरा भने होइन ।
यही मौका छोपेर कहि कतै टिकट काउण्टरमा बिचौलियाको बिगबिगी, टिकट नपाउँदा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता र सानो मुढा वा टुलमा बसेर, झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता सँधैको हो । यता आजदेखि चहलपहल थप बढेको छ । गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।जेन–जी आन्दोलनका कारण लगाएको निषेधाज्ञा र कफ्र्यू हटेपछि नागरिक काममा निस्कन थालेका छन् । काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ । पसल तथा होटल पनि खुलेका छन् ।
सरकारी कार्यालय र धेरैजसो विद्यालय पनि आजदेखि खुल्ने भएका छन् । काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यालय खुलाएर भोलिदेखि पठनपाठन शुरु गर्ने निर्णय गरेको छ । विद्यालयमा कुनै क्षति भएरनभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ ।महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, यही भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति भए / नभएको एकिन गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न सूचित गरेको हो ।