Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

जहरमान लिम्बूले ४० वर्षपछि पाए आफ्नै लालपुर्जा

जहरमान लिम्बूले ४० वर्षपछि पाए आफ्नै लालपुर्जा

ताप्लेजुङ- ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो– आफ्नै स्वामित्वमा एक टुक्रा जमिन । 

आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो— कुन दिन सरकारले उठिबास लगाउँछ ।

बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपत्र प्रदान गरिँदा उनका आँखा रसाए । “ढिलै भए पनि पुर्जा पाइयो,” उनले भावुक हुँदै भने । जहरमान मात्रै होइन, अर्जुनधारा–११, लक्ष्मीधापकी सपना सिवा दर्जी र उमादेवी तामाङको खुसी पनि उस्तै थियो । 

जहरमान, सपना र उमादेवीसहित अर्जुनधारा नगरपालिका–११, लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले बिहीबार जिल्ला भूमि समस्या समाधान समिति झापाबाट जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन् । 

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले आफू पनि अव्यवस्थित बसोबासीको पृष्ठभूमिबाट आएको र भूमिहीनका पीडा बुझेको बताइन् । “यो केवल एउटा कागजको टुक्रा होइन, पुस्तौँदेखि भोगिएको असुरक्षाको अन्त्य हो,” उनले भनिन् ।

प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले १७ जनालाई पुर्जा हस्तान्तरण गर्दै जोखिमयुक्त बस्तीबाहेक कसैलाई पनि विस्थापित नगर्ने सरकारको नीति रहेको बताइन् ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार, वडा नं ११ मा यसअघि नै १४४ जनाले लालपुर्जा प्राप्त गरिसकेका छन् । 

पालिकाले ७२९ भूमिहीन सुकुम्वासी, २१२ भूमिहीन दलित र ६ हजार ३५९ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । अभियानलाई छिटो निष्कर्षमा पुर्‍याउन प्राविधिक तथा प्रशासनिक कर्मचारी सार्वजनिक बिदाका दिनसमेत परिचालन भएका नगरप्रमुख तामाङले जानकारी दिए ।

जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वास्तविक लाभग्राहीलाई मात्रै पुर्जा वितरण गर्न प्रशासन सजग रहेको बताए ।  

नापी कार्यालयका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार, जिल्लाका सबै स्थानीय तहमा पुर्जा वितरणको प्रक्रिया अघि प्रारम्भ भएको छ । आज मेचीनगरका पाँचजना अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रदान गरिँदै छ ।