काठमाडौँ । नवलपरासी (सुस्ता पूर्व) मा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका एक बालकलाई नेपाल विद्युत् प्राधिकरणले उपचार खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। उक्त रकम प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गरेको हो।
प्राधिकरणका अनुसार त्रिवेणी गाउँपालिका–२ घुसेनीस्थित आमा समूहको भवनको छतमा खेल्ने क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छोएपछि दुर्घटना भएको थियो। स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित परिवारलाई उपलब्ध गराइनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरका आधारमा सहयोग गरिएको बताउँदै क्षतिपूर्तिले पीडा कम नगरे पनि पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बढ्दो विद्युतीय दुर्घटना न्यूनीकरणका लागि प्राधिकरणलाई संरचनाको नियमित मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी, सुरक्षा सतर्कता र जनचेतना अभियानलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिनुभएको छ।