गुल्मी। गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–४, जैसीथोकमा अवस्थित पाञ्चायन माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव बिहीबार विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुँवरको अध्यक्षता र धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। गाउँपालिका उपाध्यक्ष सीता गिरी विशेष आतिथ्यमा रहनुभएको उक्त कार्यक्रममा वडा नं। ४ का वडा अध्यक्ष वीरबहादुर कुँवर, कार्यपालिका सदस्य, वडा सदस्य, पूर्व शिक्षक, पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका प्रमुखहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भूपाल पोखरेलले शिक्षाको महत्व र विद्यालयको भूमिकाबारे विचार प्रस्तुत गर्नुभएको थियो। त्यस्तै विशेष अतिथि उपाध्यक्ष सीता गिरीले पनि शिक्षाबाट हुने सामाजिक रुपान्तरणबारे आफ्ना भनाइ राख्नुभयो। अन्य वक्ताहरुले विद्यालयको प्रगति र सफलतामा शुभकामना व्यक्त गरेका थिए।
पाञ्चायन माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव
कार्यक्रममा सहायक प्राध्यापक रुद्रमणि पोखरेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। स्वागत मन्तव्य शिक्षक कृष्णचन्द्र पन्थीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम पाण्डे र जीवन पोखरेलले गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा स्वर्गीय भेषराज पोखरेलको सम्झनामा उनकी पत्नी रिता पोखरेलले विद्यालयमा १ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ।
भदौ २९ गतेदेखि सुरु भएको वार्षिकोत्सव अन्तर्गत उत्कृष्ट जहेनदार विद्यार्थी, खेलकुदतर्फ उत्कृष्ट हुने विद्यार्थी तथा सकारात्मक समूहलाई पुरस्कार वितरण गरिएको थियो। साथै आफ्ना विषयमा उत्कृष्ट प्रदर्शन गर्ने र शतप्रतिशत नतिजा ल्याउने शिक्षकहरुलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ।
६७ औं वार्षिकोत्सव उद्धाटन गदैँ धुर्कोट गा.पा अध्यक्ष भूपाल पोखरेल