काठमाडौं । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री बन्ने भएकी छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उनलाई मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ। डा. मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ तथा प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा परिचित छन्। उनी यसअघि स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व गरिसकेकी छन्।
मिश्र विगत तीन वर्षदेखि अतिरिक्त सचिवको जिम्मेवारीमा कार्यरत थिइन्। तर, गत वर्ष फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी बिदामा बसेकी थिइन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री नियुक्त हुने भएपछि डा. मिश्रले हालै पदबाट राजीनामा दिइसकेकी छन्। मन्त्रिपरिषद् सचिवालय स्रोतले राजीनामा स्वीकार भइसकेको जनाएको छ।
यसअघि तत्कालीन सरकारका केही अधिकारीहरूले डा. मिश्रको नागरिकता विवादित रहेको भन्दै उनलाई सचिवमा बढुवा नगरेको दाबी गरेका थिए।