Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

महावीर पुन शिक्षामन्त्री नियुक्त, नवप्रवर्तनलाई सरकारमैबाट अगाडि बढाउने तयारी

महावीर पुन शिक्षामन्त्री नियुक्त, नवप्रवर्तनलाई सरकारमैबाट अगाडि बढाउने तयारी

काठमाडौं, वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरिएको छ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा पुनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन्।

सरल जीवनशैलीका लागि परिचित पुन मन्त्रीमा सिफारिस हुँदै गर्दा पनि आफ्नै आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टीको काममा व्यस्त थिए। दुई दिनअघि मात्रै काठमाडौं आएका उनी देशभर पुगेर आफ्नै पुस्तक ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ बेच्दै थिए। ५२६ दिनमा ४५ जिल्ला पुगेर २ लाख ४० हजार प्रति पुस्तक बिक्री गरिसकेका छन्, जसबाट संकलित आम्दानी कृषि औजार निर्माणमा लगाउने योजना छ।

कोरोना महामारीका बेला पीपीई, फेससिल्ड, नर्सिङ रोबोट, शव बाकस, स्वाब कलेक्शन बक्सलगायत दर्जनौं नवप्रवर्तन पुनको ‘राष्ट्रिय आविष्कार केन्द्र’ले तयार पारेको थियो। यस्तै, बेबी वार्मर, ट्रली, गाडी धुने मेसिन, सेल रोटी पकाउने मेसिन, बाँदर धपाउने यन्त्रजस्ता प्रयोगात्मक आविष्कारहरू पनि केन्द्रमार्फत अगाडि बढाइएको छ।

विदेशमा पढे पनि देशमै काम गर्ने अठोट बोकेका पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट उच्च शिक्षा लिएर फर्किएपछि ‘नेपाल वायरलेस नेटवर्क’ मार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याएका थिए। यही कार्यका लागि उनलाई सन् २००७ मा ‘रोमन म्यागसेसे पुरस्कार’ दिइएको थियो।

पुनले मन्त्री बनेपछि सामाजिक सञ्जालमा लेखेका छन् —
“मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला। कसैले बधाई दिन माला खादा लिएर नआउनुहोला, बरु ५ महिनामा गर्न सकिने शिक्षा, विज्ञान र प्रविधिका काम वा आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोस्।”

उनको भनाइ अनुसार, यो सरकारको कार्यकाल छोटो भएकाले तत्काल गर्न सकिने काममा ध्यान दिनेछन। सधैं सत्ता र सरकारलाई प्रश्न गर्ने पुन अब आफैं सरकारी जिम्मेवारीमा पुगेका छन्।