काठमाडौं, प्रहरीले मध्यरातमा आरजु राणाका भाइको घरमा छापा मार्नुको कारण खुलेको छ । आइतबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले कांग्रेस सभापति शेरबहादुर देउवाको साला तथा आरजु राणाका भाइ भूषण राणाको घरमा छापा मारेको हो । प्रहरीले मध्यरातमा छापा मारेपछि यतिबेला यो बिषयले चर्चा पाएको छ ।
सिआइवीले राणाको घरमा छापा हानेर कागजात लैजानुको पछाडि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानलाई थप विस्तार गर्नु रहेको बुझिएको छ । केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको सिआईबीले जनाएको छ । करिब एक महिनादेखि युरोपमा रहेका आरजुका भाईको घरमा उनी नभएका कारण प्रहरीको टोलीले निवासमै पुगेर कागजपत्र सङ्कलन गरेको हो। सिआइवीमा रहेर उक्त प्रकरणकोे अनुसन्धान गरिरहेका एआइजी मनोेज केसीको सरुवा भएपछि भुटानी प्रकरणको अनुसन्धान र अभियोजनलाई जतिसक्यो साँघुरो पारेर उच्च राजनीतिक र प्रशासनिक नेतृत्वलाई जोगाएको थियो ।
ओली सरकारले उनको सरुवा गरेर पटक पटक दुख दिएको थियो । सत्ता र शक्तिको आडमा उन्मिुक्ति दिएको भन्दै तत्कालिन ओली सरकारको विरोध भएको थियो । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले केसीलाई पुन सिआइवी प्रमुखको जिम्मेवारी दिएपछि थप अनुसन्धानका लागि राणाको घरमा खानतलासी गरिएको बुझिएको छ । के सी यो भन्दा अघि प्रमुख हुँदा जुन रुपमा यो प्रकरण अघि बढेको थियो,उनी हटेपछि विल्कुल फरक रुपमा अनुसन्धान लगियो र अभियोजन पनि त्यसैअनुसार गरिएको खुलेको छ ।
त्यसैलाई सच्याउन थप अनुसन्धानको सिलसिलामा छापा हानिएको हो बुझिएको छ । अनुसन्धानले आरजु र ओलीका स्वकीयसचिव राजेश बज्राचार्यको समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिने अवस्था रहेको सिआइवी स्रोतले जानकारी दियो। नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री बालकृृष्ण खाँड, सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध मुद्दा चलाइएको छ।
उनीहरूविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गर्दै ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ। यता गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका आधारमा रोकिएका सबै फाइल खोल्ने घोषणा गरेका छन्। उनले राजनीतिक ‘कनेक्शन’का कारण रोकिएका अनुसन्धानमा छिट्टै ‘ब्रेक थ्रु’ हुने बताएका हुन्। गृहमन्त्री अर्यालले शान्ति, सुरक्षा र सुशासन कायम गर्दै आउँदो फागुन २१ गते तोकिएको चुनाव सफलतापूर्वक सम्पन्न गर्न पनि राजनीतिक पहुँचका फाइल खोल्न आवश्यक रहेको उल्लेख गरे।