काठमाडाैं, के पी शर्मा ओलीको राहदानी रोक्का र महेश बस्नेत विरुद्ध अनुसन्धान सुरु भएपछि एमालेको भ्रातृ संगठन युवा संघले विज्ञप्ती जारी गरेको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्काको सिफारिस गर्ने निर्णयको आपत्ति जनाएको छ । बस्नेत विरुद्ध अनुसन्धान सुरु भएपछि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागेको आरोप लगाएको हो । संघका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै यी विषयमा आपत्ति जनाएका हुन । जेन जीहरुको आन्दोलनमा गोली चलाउन आदेश दिएकोे भन्दै ओलीमाथि पक्राउ गर्न निकै दबाब बढेको छ । यस बिषमा अनुसन्धान गर्न बनेको आयोगले दशै पछि ओलीको बयान लिने समेत तयारी गरेको हो । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रारम्भिक चरणमै शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको सिफारिस गरेको बताएका छन्।
‘वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली लगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले बिना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्ग छ।’ भनेर विज्ञप्तीमा भनिएको छ । छानबिन गर्न बनेको जाँचबुझ आयोगले केही दिन अघि के पी ओली,रमेश लेखक र छबि रिजाल सहिका केही व्यक्तिको पासपोर्ट रोक्का गर्ने र विदेश जान पनि रोक लगाउने निर्णय गरेको छ । यस विषयलाई लिएर एमालेले पनि सरकारको विरोध गरेको थियो । त्यस्तै युवा संघले एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागेको आरोप लगाएको छ।
‘कमरेड महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने समाचार आएका छन्। यस प्रकारका प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन हामी जोडदार माग गर्दछौं र यस प्रकारका गतिविधि वर्तमान सरकारलाई बप्रत्युपादक हुने कुरामा समेत सचेत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ। महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको साइबर ब्युरोलाई चिठी पठाएको छ। एक महिलाले दिएको जाहेरीका आधारमा उक्त चिठी पठाइएको हो।