काठमाडौं, सुनचाँदी बजारमा मूल्य वृद्धिको क्रम सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २,३३,१०० पुगेको छ। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो।
आइतबार छापावाल सुन प्रतितोला रु २,३०,६०० मा कारोबार भएको थियो। सोमबार मूल्य रु २,५०० ले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज थप वृद्धि भएको छ। आइतबार प्रतितोला रु २,९३० मा कारोबार भएको चाँदी सोमबार रु २,९६० मा पुगेको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, चाडपर्वको माग र डलरको भाउजस्ता कारणले सुनचाँदीको मूल्य उक्लिएको हो। पछिल्ला दिनहरूमा लगातार बढ्दो मूल्यले उपभोक्तालाई थप दबाब दिएको छ भने व्यवसायीहरूले मूल्य अझै बढ्न सक्ने सम्भावना औंल्याएका छन्।