Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलि लेखक पक्राउ गर्न जव मध्यरातमै सुरक्षा निकायका प्रमुखहरु छलफलमा बसे !

ओलि लेखक पक्राउ गर्न जव मध्यरातमै सुरक्षा निकायका प्रमुखहरु छलफलमा बसे !

काठमाडौं, जेन जीहरुले के पी ओली र रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएपछि मध्यरातमा प्रधानमन्त्री सहितको बैठक बसेको खुलेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलाई बोलाएर मध्यरातिसम्म छलफल गरेको खुलेको हो ।  सोमबार राति प्रधानमन्त्री निवास,बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आईजी चन्द्रकुवेर खापुङले प्रहरीलाई जेनजी समूहले कार्यालयमै आएर धम्की दिएकोप्रति आपत्ति जनाएका छन ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी मनोबल खस्किने कुनै पनि कार्य जायज नभएको बताएको पनि पाइएको छ ।  जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिका/युवाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढ्दै गएको छ ।  ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न जाँदा पनि प्रहरीले दर्ता गर्न नमानेको भन्दै जेनजीका अगुवा सुदन गुरुङसहितको टोलीले सरकारलाई तीव्र दबाब दिइरहेको छ।

उनीहरूले सामाजिक सञ्जालमा पनि ओली र लेखकलाई गिरफ्तार गर भन्ने अभियान चलाइरहेका छन्। केही दिनअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि बालुवाटारमै गएर प्रधानमन्त्री कार्कीलाई ओली र लेखकमाथि कारबाही अघि नबढाउनुको कारण मागेका थिए। जेनजी अगुवा, सहिदका परिवार तथा आन्दोलनका घाइतेहरूले पनि ओली र लेखकलाई तत्काल गिरफ्तार गरी कारबाही अघि बढाउनुपर्ने आवाज उठाइरहेका छन्।

गत शनिबार बालुवाटारमै जेनजीका पाँचवटा समूहसँगको छलफलमा पनि यही आवाज उठेको थियो। तर सरकारले पनि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले काम गरिरहेको भन्दै उक्त आयोगको प्रतिवेदन प्राप्त नहुन्जेल पूर्ववर्ती सरकारका कुनै अधिकारीउपर कारबाही अघि बढाएको छैन। जेन–जी समूहको धम्कीपछि आज बिहानैदेखि काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ । बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास, बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको क्षेत्रमा कमाण्डो टोली तैनाथ गरिएको हो । ती क्षेत्रमा ‘छानिएका’ प्रहरी अधिकृतलाई बोलाएर खटाइएको छ ।

साथै संवेदनशील क्षेत्रमा भिड जम्मा भए साथै सुरक्षालाई चुनौती दिने गतिविधि भए सिलसिलेबार बल प्रयोग गरिने बताइएको हो । सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट दुई ठाउँमा कमाण्डो टोली परिचालन गरिएको छ ।