Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक जारी, बाढीपहिरो पीडितका लागि राहत र पुनर्निर्माणमा जोड

सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक जारी, बाढीपहिरो पीडितका लागि राहत र पुनर्निर्माणमा जोड

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा जारी छ।

बैठकमा असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भएको भारी वर्षा, बाढी र पहिरोबाट भएको क्षति र त्यसपछिको राहत तथा पुनर्निर्माण कार्यका विषयमा विस्तृत छलफल भइरहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकका लागि ९ प्रमुख एजेन्डा तय गरिएको छ। तीमध्ये प्रमुख एजेन्डा पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक तथा यातायात सञ्चालनमा ल्याउने, अस्थायी आवास निर्माण, महामारीको जोखिम न्यूनीकरण, तथा पुनर्निर्माणको खाका तयार गर्ने रहेका छन्।

बैठकमा बाढीपहिरोका कारण भएको जनधन र भौतिक क्षतिप्रति दु:ख व्यक्त गरिएको छ। साथै, मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई कानुन अनुसार राहत उपलब्ध गराउने, प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सञ्चालन गर्ने र भविष्यका लागि जोखिम न्यूनीकरण रणनीति तय गर्ने तयारी भएको बताइएको छ।

गत साता आएको प्राकृतिक विपद्ले ६० जनाको ज्यान लिएको छ, सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको छ। बाढीपहिरोका कारण बाटोघाटो, पुल, जलविद्युत् आयोजना लगायतका संरचनामा करोडौंको क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

बैठकमा संघीय सरकारका मन्त्रीहरू, सातवटै प्रदेशका मुख्यमन्त्रीहरू, पूर्वशिक्षामन्त्री तथा विज्ञ सदस्य डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति, र गृहमन्त्रालयका सचिव लगायत उच्च अधिकारीहरू सहभागी छन्।

बैठकबाट आजै राहत, उद्धार र दीर्घकालीन पुनर्निर्माणका लागि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।