Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिंहदरबार जलेको बेला खुसी मनाएको फोटो खिचेपछि जेनजी रक्षा बमले भनिन कारबाही भोग्न तयार छु

सिंहदरबार जलेको बेला खुसी मनाएको फोटो खिचेपछि जेनजी रक्षा बमले भनिन कारबाही भोग्न तयार छु

काठमाडौं, सिंहदरबार जलिरहँदा खुसी मनाएको फोटो ‘भाइरल’ भएपछि जेन जी आन्दोलनकी अगुवा रक्षा बमले आफु कारबाहीको लागि तयार रहेको बताएकी छन । बमले आफूमाथि लागेका विभिन्न आरोपहरूको खण्डन गर्दै सरकारसमक्ष आन्दोलनका क्रममा भएका हरेक फौजदारी कसुरमा निष्पक्ष छानबिनको माग गरेकी छन । एक भिडियो सन्देशमार्फत उनले भनेकी छन  मेरो एउटा फोटो जुन सिंहदरबारअगाडि मैले खिचेको थिएँ, त्यो सेप्टेम्बर ९ को फोटो थियो, त्यो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

त्यो फोटोसम्बन्धी पनि यहाँहरूलाई धेरै प्रश्नहरू छन । सेप्टेम्बर ८ मा हामीमाथि जे व्यवहार भयो । त्यसको आक्रोशलाई लिएर हामी सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रिएका थियौँ । प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौँ, त्यहीबेला प्रधानमन्त्रीको राजीनामा आएको थियो । सिंहदरबार हाम्रो राज्यको प्रतीक भएको हिसाबले एउटा विम्ब स्वरुप मैले हामीले जित्यौँ भनेर जितको खुसी मनाएर त्यहाँनेर फोटो राखेको थिएँ । त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन । त्यतिबेला सिंहदरबारको गेट जलिरहेको थियो, म आक्रोशित थिएँ ।

एक किसिमको जितजस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो ।’ उनले यसमाथि अनुसन्धान हुनुपर्ने बताउँदै गोली चलाउनेमाथि पनि अनुसन्धान गर्न सरकारसमक्ष माग राखिन । ‘हरेक फौजदारी लाग्ने कसुरहरूमा कारबाही गर्नको लागि सरकार तयार हुनुपर्छ । सुरुवात मबाट नै हुने हो भने म पनि तयार छु’, उनले भनिन । उनले आफूमाथि राजनीतिक आबद्धताको विषयलाई लिएर चर्चा हुने गरेकोप्रति पनि आपत्ति जनाएकी छन । उनले आफू कुनै राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पारेकी छन । साथै, आफूमाथि लाग्ने गरेको विदेशी शक्तिसँगको सम्बन्धलाई उनले गलत भनेकी छन । यस्तै उनले अघि भनेकी छिन ‘तत्कालीन सरकारले हामी र हाम्रा साथीहरूमाथि गोली दागेको थियो, बर्बरतापूर्वक हाम्रा साथीहरूको हत्या गरेको थियो,’ उनले भनिन । शान्तिपूर्ण रूपमा सुरु गरिएको आन्दोलनमा अराजकता फैलिएको र धेरै साथीहरू गुमाउनु परेको उनको भनाइ छ ।

रक्षा बमले केही समयअघि काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूमाथि गरेको दमनको विरोधमा ‘गरिखाना देउ’ अभियान चलाएको जानकारी दीन । यस अभियानअन्तर्गत महानगरपालिकाअगाडि १०९ घण्टा उभिएर जवाफदेहिता माग गरिएको थियो । यस्तै, लुम्बिनीदेखि सिंहदरबारसम्म पैदलयात्रा गरी सुझावपत्र तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो फोटोलाई लिएर उनलाई माओवादीको झोले भनिएको थियो । उनले आफ्नो नाम कुनै एक राजनीतिक पार्टीको सदस्यसँग मिल्ने भएकाले आफूलाई ‘एमाले’ भनिएको र अन्य किसिमका आरोप लगाइएकोमा आपत्ति जनाइन । रक्षा बमले आफूलाई आउने मृत्युका धम्की र बलात्कारका धम्कीले कुनै फरक नपर्ने बताउँदै आफू खुट्टा कमाउने मान्छे नभएको बताइन ।