काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घटेर तोलामा २ लाख ३५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन ऐतिहासिक उच्च मूल्य छोएको सुनको भाउ आज शुक्रबार एकैदिनमा ४ हजार २ सय रुपैयाँले घटेको छ ।
बिहीबार, सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँमा पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो। तर, अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो।
चाँदीको मूल्य भने केही बढेको छ। बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८५ रुपैयाँमा पुगेको छ, जसअनुसार मूल्यमा ६० रुपैयाँको वृद्धि भएको हो।
विशेषज्ञहरूका अनुसार विश्व बजारमा आर्थिक अस्थिरता, मुद्रास्फीति र अमेरिकी डलरको दरमा आएको उतारचढावले सुनचाँदीको मूल्यमा प्रत्यक्ष असर परेको हो।