काठमाडौं, ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगाना शनिबार नयाँ राजनीतिक पार्टी घोषणा गर्न लागेका छन्। काठमाडौंको होटल एभरेस्टमा शनिबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै पार्टी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भएको उनले बताएका छन्।
सामाजिक सञ्जाल TikTok मा सार्वजनिक गरिएको भिडियो सन्देशमा ढुंगानाले पार्टी खोल्नैपर्ने अवस्था आएको बताएका छन्। उनका अनुसार, यसका लागि ‘वार्ता समिति’ गठन गरिएको छ र काम अगाडि बढिरहेको छ।
उनले भनेका छन्, "राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी देशको अहिलेको अवस्थामा निर्वाचनमा जान्छौं। जबसम्म हाम्रो बटमलाइन — प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रवासमा रहेका नेपालीलाई मताधिकार, र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको स्वायत्त निकाय — सुनिश्चित हुँदैन, हामी निर्वाचनमा सहभागी हुने छैनौं।"
भदौ २३ र २४ मा सम्पन्न जेनजी आन्दोलनलाई परिवर्तनको सुरुआतको रूपमा व्याख्या गर्दै उनले आन्दोलन अझ शान्तिपूर्ण तर सशक्त रूपमा अघि बढ्ने बताएका छन्।
ढुंगानाले यो अभियान देशको मुहार फेर्ने गरी अघि बढ्ने दाबी गर्दै भने, “देश गम्भीर अवस्थामा छ। ७८ जना नेपालीले ज्यान गुमाएका छन्। अब देशले निकास खोजिरहेको छ, र हामी त्यस निकासको जिम्मेवारी लिन तयार छौं। हामी यो अभियानलाई रोकेर फर्किँदैनौं।”
उनले देश परिवर्तन गर्न इच्छुक युवालाई आफ्नो अभियानमा जोडिन आह्वान समेत गरेका छन्।