Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

लगातार बढ्दै आएको सुनको मूल्यमा गिरावट, तोलामा रु २९०० ले घट्यो

लगातार बढ्दै आएको सुनको मूल्यमा गिरावट, तोलामा रु २९०० ले घट्यो

काठमाडौँ, केही सातादेखि निरन्तर बढ्दै आएको सुनको मूल्यमा अब ओरालो लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २९०० रुपैयाँले घटेको छ।

सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार घटेर २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा २ हजार ९८० रुपैयाँ रहेको चाँदी मंगलबार घटेर २ हजार ९२० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

यसअघि केही समयअघि सुनको मूल्य २ लाख ५० हजार रुपैयाँभन्दा माथि पुगेको थियो। क्यानडा, बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, मेक्सिको र रसियासहितका देशका केन्द्रीय बैंकहरूले ब्याजदर घटाएपछि उच्च प्रतिफलका खोजीमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका थिए।

सुनको मूल्य बढ्नुमा भू–राजनीतिक कारणहरू पनि जोडिएका छन्। रुस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन द्वन्द्वमा लेबनान, यमन र इरान पनि संलग्न हुँदै गएपछि विश्व बजारमा असुरक्षा बढेको र लगानी सुनतर्फ मोडिएको विश्लेषण गरिएको छ।

वल्र्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२४ मा विश्वका केन्द्रीय बैंकहरूले झण्डै १,०४५ टन सुन खरिद गरेका थिए। पछिल्ला वर्षहरूमा पनि केन्द्रीय बैंकहरूले हरेक वर्ष करिब १,००० टन सुन खरिद गरी मौज्दात बढाउने गरेका छन्, जसले माग र मूल्य वृद्धि दुवैमा सहयोग पुर्‍याएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको अर्को प्रमुख कारण भनेको अमेरिकाले ब्याजदर घटाउने निर्णय हो। ब्याजदर घट्दा अन्य सम्पत्तिबाट हुने आम्दानी घट्ने भएकाले लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुने गर्छन्।

नेपालमा सुन विशेषगरी महिलाहरूबीच लोकप्रिय रहँदै आएको छ, जबकि छिमेकी भारतमा पनि सुनका गरगहना लगाउने परम्परा निकै बलियो छ। तर अमेरिका, चीन, रुसजस्ता मुलुकमा सुन गहना होइन, आर्थिक शक्ति र सुरक्षाको प्रतीकका रूपमा राखिन्छ।

विश्लेषकहरूको भनाइमा, धेरै देशहरूले सुनको भण्डार बढाउँदै आफ्नो मुद्रा र वित्तीय प्रणालीलाई मजबुत बनाउने प्रयास गरिरहेका छन्।

तर सुनको मूल्य अत्यधिक बढेसँगै सामान्य उपभोक्ताले सुन किन्ने सामर्थ्य गुमाएका छन्। पछिल्ला केही दिनयता भने सुनको मूल्य क्रमशः घट्दै गएको छ, जसले बजारमा केही स्थिरता ल्याउने संकेत दिएको छ।