काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न ७ दिन मात्र बाँकी हुँदा काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ।

कार्यालयमा केही समय सर्भरमा समस्या देखिए पनि सहभागीहरूले नाम दर्ता प्रक्रियामा धेरै समय नलाग्ने र झन्झट कम भएको बताए। पहिलो पटक नाम दर्ता गर्न आएको सेवाग्राही अंकित बरालले खुशी व्यक्त गर्दै भने, “मेरो पहिलो मतदान हो, र अबको नेतृत्व युवा हुनुपर्छ भन्ने चाहना छ। मैले मतदानको लागि आफूलाई तयार पारेको छु।” उनले सर्भरमा समस्या भए पनि लामो समय लाइनमा बस्नु नपरेको जानकारी दिए।

निर्वाचन कार्यालयका सूचना अधिकारी सिर्जना रायमाझीका अनुसार, मतदाता नामावली दर्ता प्रक्रिया ७७ वटै जिल्लामा एकैसाथ भइरहेको हुँदा सर्भरमा कहिलेकाहीँ चाप बढ्ने र केही समस्या देखिन सक्ने बताइन्।
आगामी निर्वाचनमा नागरिकहरूको उत्साही सहभागिताले लोकतन्त्रमा विश्वास र मतदाताको सक्रियता स्पष्ट देखाएको रायमाझीले बताइन्। उनका अनुसार, नाम दर्ता प्रक्रियामा सर्वसाधारणले देखाएको सहकार्य र सकारात्मक प्रतिक्रियाले कार्यालयको कामलाई सहज बनाएको छ।
