काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’ दर्ता गर्न निर्वाचन आयोग जाने तयारीमा छन् । जसका लागि उनको टिम मंगलबार निर्वाचन आयोग जाने भएको छ ।
आयोगमा जानुअघि कुलमानको टीमले रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ र हामी नेपालका संस्थापक सुदन गुरूङसँग अन्तिम छलफलमा जुटेको छ । हिजै सुमनाले कुलमानको पार्टीमा आफु नजाने बताएकी थिईन तर, आज फेरि छलफलमा जुटेकी छिन्। आयोग जानुअघि आज सुमना र हामी नेपालका संस्थापक सुदन गुरूङको टिमसँग छलफल भइरहेको जानकारी दिए ।
अगाडी सुमना उज्यालो नोपलमा जाने तयारीमा थिईन । तर, नाम र चुनाव चिह्नमा चित्त नबुझाउदै उनी बाहिरिएको स्रोतले दाबी गरेको छ । आईतबार राती पनि सुमना सहित नेता संग छलफल भएको थियो । उज्यालो नेपालको सट्टामा नेपाल जनसेवा पार्टी राख्ने सुमनाको भनाई थियो । यद्यपी, लामो छलफल पछि उज्यालो नेपाल नै उपयुक्त हुने सल्लाह आएको थियो । सुमनाले कुलमानलाई आफ्नो सधैँ साथ रहने भन्दै तत्काल उनको पार्टीमा नजाने संकेत गरेकी छिन् ।
कुलमान सुरूदेखि नै उज्यालो नेपाल नाम राख्नुपर्नेमा थिए। सुमनाले उज्यालो नेपाल नाम राख्दा व्यक्तिकेन्द्रित पार्टीजस्तो हुने भन्दै फरक फरक नाम राख्न सुझाव दिएकी थिइन्। तर, घिसिङ भने मान्ने पक्षमा थिएनन । कुलमान, सुमना, हामी नेपालका संस्थापक सुदन गुरूङ लगायतले एउटै पार्टी निर्माण गरेर अघि बढ्नेबारे छलफल सुरू गरेका थिए। सुमनाले छाडे पनि सुदन गुरुङको ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकसहितका जेनजी अगुवा ऊर्जामन्त्री कुलमान घिसिङले खोल्ने दलमा सहभागी भएका छन्।
बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उक्त दलमा संलग्न भएका हुन्। सरकारमा मन्त्री रहेकाले कुलमान तत्काललाई पार्टीमा सक्रिय हुने छैनन् ।
सोहीकारण पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गराउने तयारी छ । पार्टीको नाम उज्यालो नेपाल रहने र चुनाव चिह्न बिजुलीको चिम राखेर जाने सहमति जुटेसँगै आज दल दर्ताका लागि निवेदन दिन लागेको बताईएको छ । यसअघि साउन २७ गते नै यो पार्टी दर्ताका लागि ज्ञानबहादुर तामाङले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले थप विवरण उपलब्ध गराउन भनेको थियो । उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको छ।