काठमाडौँ । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङ सेवाबाट अवकाश पाएका दिनमै भाद्र २३ र २४ का घटनाबारे छानबिन आयोगले उनीमाथि कडा निर्णय गरेको छ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले बिहीबार बसेको बैठकबाट खापुङलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको अनुमति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो।
आयोगका प्रवक्ता विज्ञान राज शर्माले जारी गरेको विज्ञप्तिअनुसार, खापुङलाई आवश्यक परेमा कुनै पनि समयमा उपस्थित हुन बोलाइनेछ। त्यसैले उनलाई निगरानीमा राख्न निर्णय गरिएको आयोगले जनाएको छ।
खापुङमाथि महानिरीक्षक रहँदा भाद्र २३ र २४ का घटनामा संलग्न प्रहरी अधिकृतहरूको विवरण नदिएको आरोप आयोगले लगाउँदै आएको छ।