काठमाडाैं । दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गरेको बिषयमा अहिले चौथर्फी आलोचना र टिप्पणी भई रहेको छ । धेरैले प्रसाईलाई सरकारले मध्यरातमा मानव अधिकार हनन् गर्दै पक्राउ गरेकाले अबिलम्ब रिहा गर्न माग गरेका छन् । आक्रामक अभिब्यक्ती दिए पछि प्रसाई पक्राउ परेका हुन् ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई पक्राउ गरेकामा आपत्ति जनाएको छ । समितिले विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानूनी राज्यको सम्मान हुन्छ, सुशासन बहाली हुन्छ र कम्तिमा पुराना सरकारका गल्ती कमजोरी दोहोरिन्न भन्ने आम अपेक्षा पूरा नभएको जनाएको छ ।
प्रसाईंलाई पक्राउ गर्न सोमबार मध्यरात भक्तपुरस्थित उनको निवास गएको प्रहरी टोलीले साथमा भर्याङ पनि लिएर गएको थियो। उनलाई मध्यरातमा पक्राउ गरे पछि संविधानबिद डा. भिमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न कानुनले बर्जित गरेको बताएका छन् । उनले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु नागरिक शासनको ‘निकै ठूलो धब्बा’ पनि भएको उनले उल्लेख गरेका छन् ।
प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। देश गृहयुद्धमा जान लागेको र त्यसका लागि रासनपानी बन्दोबस्त गरेर राख्नू भन्ने जस्ता अभिव्यक्ति दिएर उनले समाजलाई भ्रमित पार्दै आएका थिए। सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको थियो।
त्यसबाहेक राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने काम पनि उनले गर्दै आएका थिए। उनले प्रधानमन्त्री सुशीला कार्कीतर्फ लक्ष्य गर्दै व्यक्तिगत गालीगलौजपूर्ण अभिव्यक्ति र प्रहरीलाई लक्ष्य गर्दै भड्काउ भाषण दिएपछि शान्तिसुरक्षाको निम्ति पक्राउ गर्ने निर्णय भएको प्रहरी स्रोत बताउँछ।
दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ । प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै काठमाडौं उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको छ । प्रसाईले ७ गते देखी प्रर्दशनको तयारी समेत गरेका थिए ।
उनले विशेष गरि यस पटक सुकुम्बासीहरुलाई आन्दोलनको मोहोरा बनाउने प्रयास गरेका थिए । उनले सुकुमबासी बस्ती खाली गराउने प्रयास गरे काठमाडौँका मेयर बालेन शाहको घर घेर्ने चेतावनी समेत दिएका थिए । उछिल्लो समय उनले विभिन्न ब्यक्तिका बिरुद्ध आक्रामक अभिब्यक्ती दिदै आएका छन्।