काठमाडौँ। सार्वजनिक शान्ति भंग गर्ने आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समुचित प्रक्रिया पूरा भएको कि नभएको भन्ने विषयमा सर्वोच्च अदालतले स्पष्ट धारणा मागेको छ। सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन सुनुवाइ गर्दै प्रसाईंलाई किन र कसरी पक्राउ गरियो भन्ने पूरा विवरण अदालतसमक्ष पेश गर्न प्रहरी प्रशासनलाई आदेश दिएको हो।
प्रसाईंलाई मंसिर १ गते प्रहरी टोलीले भक्तपुरको ठिमीस्थित उनको निवासबाट पक्राउ गरेको थियो। आन्दोलनका नाममा उत्तेजनापूर्ण अभिव्यक्ति दिँदै देशभर अस्थिरता निम्त्याउने खतरा उत्पन्न भएको निष्कर्षपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताएको छ। उनीले देशव्यापी आन्दोलन घाेषणा गर्दै यातायातदेखि चल्तीका सेवासम्म ठप्प पार्ने चेतावनी दिएका थिए।
यसअघि, प्रसाईंले राष्ट्रिय नियामक निकायहरूलाई समेत चेतावनीपूर्ण वक्तव्य दिँदै एनपीएलजस्ता संवेदनशील गतिविधि रोक्न दवाब दिएको भिडियो सार्वजनिक भएपछि सुरक्षा निकायहरू चनाखो बनेका थिए। प्रहरीका अनुसार यिनै अभिव्यक्ति र सम्भावित जोखिमलाई आधार बनाएर उनीविरूद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ।